कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा दोस्रो मेयर कप प्रतियोगिता असोज २८ गतेदेखि हुने भएको छ । नगरपालिकाको आयोजनामा हुने अन्तर पालिका स्तरिय क्रिकेट तथा महिला पुरुष भलिबल प्रतियोगितामा सयौं खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा भाग लिन जिल्लाका तिन नगरपालिका र छ गाउँपालिका गरी ९ वटै स्थानीय तहलाई पत्राचार गरिएको नगर खेलकुद समिति अध्यक्ष गणेश शाहीले बताएका छन् । अध्यक्ष शाहीका अनुसार करिव ११ लाख रुपैयाँ लगानीमा सञ्चालन हुने प्रतियोगिताको क्रिकेट प्रतियोगिता तर्फ विजेता टोलीले १ लाख र उपविजेता टोलीले ६० हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।
यस्तै महिला भलिबल प्रतियोगिता तर्फ विजेता टोलीले ४० हजार र उपविजेता टोलीले ३० हजार नगद एवं पुरुष भलिबल प्रतियोगिता तर्फ विजेता टोलीले १ लाख र उपविजेता टोलीले ६० हजार नगद का साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सवै खेल तर्फ टिम दर्ता शुल्क नलाग्ने खेलकुद समितिले बताएको छ । नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष मेयर कप प्रतियोगिता सञ्चालन हुँदै आएको नगरपालिकाका प्रमुख धर्मराज शाही(पोषण)ले बताए । उनका अनुसार मेयर कपले समग्र जिल्लामा खेल क्षेत्रको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । प्रतियोगिता असोज ३१ गते सम्म संचालन हुने छ ।





