कालिकोट । कर्णाली प्रदेशका कुखुरापालक व्यवसायी किसानलाई लक्षित गर्दै ६ दिने व्यवसायिक कुखुरापालन तथा सन्तुलित दाना तयारी सम्बन्धी अभिमुखीकरण तालिम आयोजना भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्धर्न प्रशिक्षण केन्द्र विरेन्द्रनगर, सुर्खेतको आयोजना एवं कुखुरा बिकास फार्म खजुरा,बांकेको प्राबिधिक सहयोगमा तालिम आयोजना गरीएको हो । पशु चिकित्सक दिपक कुमार भण्डारीको सभाअध्यक्षता, कुखुरा विकास फार्मको फार्म प्रवन्धक राधा पाण्डे पन्थीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको तालिमको संचालन मत्स्य सेवा अधिकृत यादव कुमार केसीले गरेका थिए ।
तालिममा कर्णाली प्रदेशका १० वटा जिल्लाबाट १७ जना कुखुरापालक व्यवसायी किसानको सहभागीता रहेको छ । कुखुरा पालन सम्बन्धी ज्ञान, प्रविधि, तथा व्यवस्थापनका विविध पक्षहरूबारे विस्तृत जानकारी दिने उद्दश्यले तालिममा आयोजना गरीएको वताइएको छ । तालिमका क्रममा खोर व्यवस्थापन, दाना व्यवस्थापन, जैविक सुरक्षा, स्वास्थ्य व्यवस्थापन तथा बजारीकरण सम्बन्धी विषयवस्तु समेटिने छन् । यस्तै गुणस्तरीय दाना, दानाको छनोट र दाना बिग्रेको विषयमा किसानहरूलाई तालिमसँगै प्रशिक्षण गरिने छ । तालिमले किसानलाई व्यवसायिक रूपमा कुखुरा पालनलाई अझ प्रभावकारी बनाउन सघाउने अपेक्षा गरिएको छ ।





