कालिकोट । जिल्लाको पलाँता गाउँपालिकामा जलस्रोत व्यवस्थापनका लागी जलकचहरी कार्यक्रम सम्पन्न भएको छ । सबैका लागिका दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना अन्तर्गत गाउँपालिकामा खाने पानि योजना दिगो बनाउने र पानि महसुलको व्यवस्थापन गर्ने र जल सुशासन, व्यवस्थापन र नीति निर्णायक गर्ने उद्देश्यले जलकचहरी भएको हो । वर्तमान समयमा जलवायु परिवर्तनले पारेको असरबाट पानीका मुहान संरक्षण गराउन स्थानीय सरकार सँग समन्वय गर्दै खानेपानी तथा सरसफाइ ऐन निर्माण गर्न लगाउने जलकचहरीको प्रमुख उद्देश्य हो ।
जलकचहरी कार्यक्रमले पलाँता गाउँपालिकामा निर्माण भएका र आगामी दिनमा निमार्ण हुने खानेपानीका मुहान एवं संरचना संरक्षण तथा दिगो रुपमा व्यवस्थापन गर्न सघाउ पुग्ने बताइएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर रोकाया,उपाध्यक्ष,अलैपुरा जैशी(हमाल) वडा अध्यक्ष, बिभिन्न शाखामा कार्यरत कर्मचारी, जलकचहरी परियोजना सहयोग इकाई सुर्खेतका सुशासन बिज्ञ निराजन श्रेष्ठ, वास सल्लाहकार पवन कुमार वली, प्राविधिक सहजकर्ता राजेन्द्र न्यौपाने, वास संयोजक धिर बहादुर भण्डारी तथा गाउँपालिका अन्तर्गत रिजरभाइ टेङ्की बाट खानेपानी योजना संचालन भएका २८ वटा खानेपानी योजनाका अध्यक्ष र सोहि योजनाका ग्रामिण मर्मत सम्भार कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
उक्त कचहरी कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोकायाले खानेपानी योजना दिगो बनाइ सुरक्षित खानेपानीको पहुँच सबै घरधुरीमा पुगाउन पलाँता सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, “विश्वमा अहिले पानीको समस्या चुलिदै गएकाले स्रोत व्यवस्थापन महत्त्वपूर्ण पक्ष भएकोले खानेपानी आयोजना दिगो रूपमा सञ्चालन गर्ने भुमिका स्थानीय तहको रहेकोमा स्थानीय तहभित्र रहेका प्राकृतिक स्रोतको संरक्षण गर्न नितिगत रुपमा अगाडि बढ्ने पनि बताएका छन् ।
यस्तै, उपाध्यक्ष जैसीले पानी मानव जिवनका लागी महत्वपूर्ण भएकाले स्रोत संरक्षणमा जोड दिनुपर्ने बताए । उनले उपलब्ध पानीलाई सुद्विकरण गरेर पिउने, सरसफाइमा विशेष जोड दिने र वन संरक्षणमा ध्यान दिन अनुरोध समेत गरेकी छन् । उक्त जलकचहरी कार्यक्रम बाट खाने पानि योजना दिगो बनाउने सम्बन्धि गाउँपालिले १३ बुँदे सामुहिक प्रतिबद्धता पत्रमा पनि हस्ताक्षर समेत गरीएको छ ।