कालिकोट । बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो ।केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताएका छन् । उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिएका छन ।लालीगुराँस फुल्ने भेरी नगरपालिकाका तिमिले, डिँगा, राङ्सी, मछाइना, कुशेका पाँचकाटीया, समाइला, नलगाडको लहाँ, करुवा, डाँडागाउँ, बारेकोटका रामीडाँडालगायत गाउँमा प्रशस्तमात्रामा लालीगुराँस फुल्ने गरेका छन् । सबै लालीगुराँस नफुले पनि फाट्टफुट्टरुपमा लालीगुराँस फुलेको देख्न सकिने भेरी नगरपालिका–४ का ७७ वर्षीय खम्बजङ्ग शाहले बताएका छन् । पहिला यस्तो हुँदैन्थ्यो, अहिले हिउँ पर्न पनि छोड्यो लालीगुराँस पनि पुसमै फुल्न थालेको छ । बाह्रै महिना सेताम्यै हुने यहाँका हिमालमा पनि हिउँ देखिन छोडेको छ’ उनको भनाइ छ ।