कालिकोट । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ।संयुक्त राष्ट्रसंघको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना फैलाउने उद्देश्यले सन् २००१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।संयुक्त राष्ट्रसंघले दिगो शान्ति स्थापना र द्वन्द्वको रोकथामका रणनीतिहरूमा वातावरणीय सुरक्षालाई महत्त्वपूर्ण अङ्गका रूपमा समावेश गरेको छ । यो विश्व संस्थाले जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्षणबाट नै दिगो शान्ति सम्भव हुनेमा जोड दिँदै आएको छ ।युद्धका क्रममा पानीका मुहान प्रदूषित हुने, बाली डढाइने, वन फँडानी हुने, माटो विषाक्त बन्ने र जनावरको हत्या हुने भएकाले यस्ता गतिविधिले वातावरणमा गम्भीर असर पर्ने गरेको छ ।





