आज वैकुण्ठ चतुर्दशी मनाइँदै

कालिकोट । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ। वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ।वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जाग्राम बस्ने गरिन्छ। चतुर्दशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ। शिवसँग सम्बन्ध भएकालाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकालाई ‘विष्णु वैकुण्ठ’ भनिन्छ।शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशी उत्तम मानिएको छ भने उपवास व्रतका लागि अहोरात्र रातदिनको अरुणोदय चतुर्दशीले युक्त दिनलाई उपयुक्त मानिएको छ।गतिनिरोधक गर्नेलाई ‘विकुण्ठ’ भनिन्छ र त्यो सम्पादन गर्नेलाई वैकुण्ठ भनिन्छ। जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उहाँको नाम ‘वैकुण्ठ’ रहेको भन्ने पौराणिक मान्यता पनि छ।

error: Content is protected !!