कालिकोट। कालिकोटलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कालिकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिद्वारा शनिबार आयोजित एक समारोहमा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाहीले कालिकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन। खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै शनिबार एक समारोहका बीच कालिकोट पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा भएको हो । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटक महतका अनुसार ९ वटा स्थानीय तहका ५२ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका ३ हजार ११ जना बालबालिका र १६ महिना देखि ५ वर्ष मुनिका सबै ५ हजर ८ सय ४४ जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको हो । उनका अनुसार १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख धनजीत बहादुर शाहीले नेपालको संविधानको धारा ३५ र स्थानीमय सरकार संञ्चालन ऐन, २०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको बताईएको छ ।