कालिकोट – भिडिओ प्लेटफर्म युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने भएको छ ।यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति भिडिओबाट आम्दानी गर्ने प्रक्रियाअनुसार थोकमा अर्थात् एकै पटक धेरै क्यामेराले खिचेका, बारम्बार एउटै शैली दोहोर्याइएका, फोटोमात्रै राखेर बनाएका, एआईको प्रयोगबाट आवाज तथा भिडियो सिर्जना गरेका सामग्रीहरू मोनिटाइज हुने छैनन् । त्यस्ता भिडियोहरू युट्युबमा राख्न पाइने छ तर जतिसुकै पटक हेरे पनि आम्दानी भने हुने छैन ।युट्युबले आफूहरू सधैँ मौलिक र प्रामाणिक सामग्रीको खोजीमा रहेको भन्दै अब दोहोरिएका र थोकमा बनाइएका सामग्रीहरूलाई कडाइका साथ समीक्षा गर्ने बताएको छ । नयाँ नियमले एकै ठाउँमा धेरै युट्युबर भेला भएर भिडियो खिच्ने, उस्तै स्क्रिप्टमा धेरै भिडियो बनाउने, पुराना भिडियो जोडेर नयाँ बनाउने तथा कम मेहनतमा बनाएका भिडियो राख्ने युट्युबरहरू प्रभावित हुनेछन् ।





