कालिकोट । बदालकोट आधारभूत स्वास्थ्य इकाई कार्यालय, खाँडाचक्र नगरपालिका–११ मा तीन दिनदेखि ताला लागेको छ। १२ महिनासम्म तलव नपाएको गुनासो र व्यवस्थापकीय लापरबाहीको विरोधस्वरूप स्थानिय युवाहरूको पहलमा स्वास्थ्य कार्यालयमा तालाबन्दी गरिएको हो।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको बेवास्ता प्रति आक्रोशित भएका युवाहरूले “व्यवस्था फेरौं, स्वास्थ्य जोगाऔं” भन्ने नारासहित तालाबन्दी गरेका हुन्। उनीहरूको आरोप अनुसार, ८ महिनासम्म तलव नपाएर एक जना स्वास्थ्यकर्मीले जागिरसमेत त्यागिसकेका छन्। कार्यालय व्यवस्थापनमा चरम लापरबाही रहेको र एक जना कार्यालय सहयोगीको भरमा सम्पूर्ण स्वास्थ्य सेवा चलाइएको गुनासो छ।
स्थानिय युवाहरूका अनुसार वडा अध्यक्षले पटक–पटक जानकारी दिँदा पनि सुनवाइ नगरेको उनीहरूको गुनासो छ। उनीहरूले तत्काल समस्या समाधान नभए थप आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन्। स्वास्थ्य सेवामा यति ठूलो बेवास्ता हुँदा पनि नगरपालिका र वडा कार्यालय मौन बस्नु थप चिन्ताजनक विषय बनेको स्थानीय नागरिकहरूको भनाइ छ।