कालिकोट । जिल्लाको पलाँता गाउँपालिका–५ मा फरक फरक घटनामा बाबु आमा गुमाए पछि पाँच जना नावालक छोरा छोरी बेसाहारा भएका छन् । २०७८ साल पुष १९ गते राती भिरबाट लडेर बुबा जन्म कुमार शाहीको मृत्यु भएको करीब २ वर्ष पछि गत बैशाख ७ गते राति ट्याक्टर दुर्घटनामा आमा पनि गुमाएपछि उनिहरु बेसाहारा भएका हुन । बावु आमा दुवै गुमाएका १३ वर्षीया शोकृति शाही, ११ वर्षीया अन्जना शाही, ८ वर्षीया स्मृति शाही, ६ वर्षीय सुभन शाही र ५ वर्षीय भवन शाही अहिले ७० वर्षीया हजुरआमाको सहारामा बाँचीरहेका छन् ।
एक त गरीव परिवारमा जन्मिएका उनिहरु त्यसैमा आमा र बुबा दुईटै गुमाउदा उनिहरुको जिवन थप कहाली लाग्दो भएको छ । बुबाको मृत्यु पछि दैनिक ज्यालादारी गरेर छोरा छोरी हुर्काइरहेकी आमाको मृत्युले छोराछोरीको भविष्य अन्धकार भएको स्थानिय समाजसेबि जगत रोकायाले बताएका छन् । अहिले यी दुई बालबालिकालाई जीविकोपार्जनमा उतिकै समस्या छ । बिद्यालय जादा न झोला छ । न कापी कलम, शरिरमा एकसरो कपडा बाहेक अरु केही छैन् ।
बिहान खाए बेलुका के खाने भन्ने चिन्ता हुने गरेको र क्रिया खर्च समेत वडा कार्यालयले सहयोग गर्नु परेको वडा अध्यक्ष तिलक बहादुर बमले बतायका छन् । उनिहरुलाई हेरचाह गर्दै आएकी हजुरआमा बृद्ध हुँदा कुनै काम गर्न पनि सक्दीनन् । तिनै बृद्ध हजुरआमाको सामाजिक सुरक्षा भत्ताले छ जना परिवारको गुजारा चलिरहेको छ ।