कालिकोट । वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती,सोमबार २५६९ औँ बुद्धजयन्ती मनाउन लागिएको हो। नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन्।इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो। उमेर बढ्दै गर्दा मानिसका दुःख देखेर चिन्तित बने। २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए।इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गरे। बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो। दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो। सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए।