कालिकोट । हुम्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण भएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालू आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिनुभयो ।नयाँ मूल्य अनुसार चिनो र कागुनोको चामल प्रतिकिलो एक सय ८० रुपैयाँ, सिमी प्रतिकिलो एक सय ७० रुपैयाँ, कोदो र तिते फापर प्रतिकिलो एक सय रुपैयाँ तथा मिठे फापर र उवा प्रतिकिलो एक सय २० रुपैयाँ निर्धारण गरिएको छ । चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा पाँच रुपैयाँले बढेको छ । सिमीको भाउ प्रतिकिलो १० रुपैयाँले बढेको छ ।यी सबै रैथाने बाली खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ ।