लेबनानलाई हराएसँगै नेपाल लिग चरणको एक खेल अगावै फाइनलमा ।

कालिकोट । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १–० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् । १०औं मिनेटमा क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् ।

११औं मिनेटमा बिमलाले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । १३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो । १७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन । समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।

error: Content is protected !!