कालिकोट । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक २०८१ पेश भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेश गर्नुभएको हो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराउनुभयो ।सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानून निर्माण गर्नेपर्ने आवश्यकता महसूस गरी यही माघ १५ गते राष्ट्रियसभामा विधेयक दर्ता गराएको थियो । सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालको प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन विधेयक अघि बढाइएको स्पष्ट पार्नुभयो ।