कालिकोट । झापाको शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ।माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन्।नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले फर्मालिन प्रयोग भएका र मरेका माछा बिक्री वितरण हुन नदिन स्थानीय बजार व्यवस्थापन समिति र स्थानीय प्रहरीसँग मिलेर नगरपालिकाले नियमित बजार अनुगमन गरिरहेको बताइन्।भारतबाट आयातित माछालाई सड्न नदिन फर्मालिनको घोलमा डुबाउने गरिएको गुनासो आएको जनाउँदै उनले त्यसलाई रोक्न मरेका माछा बिक्रीमा कडाइ गरिएको बताइन्। नगरपालिकाले हानिकारक रसायन फर्मालिन प्रयोग गरेको र मरेका माछा बिक्री भएको थाहा भएमा नगरपालिकामा तत्काल खबर गर्न सार्वजनिक सूचना जारी गरेको छ।