कालिकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ। गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो।सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन्। गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन्। ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधि नहुँदा उपचारबिना फर्किने गरेका छन्। स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका दलसुर परियारले बताए।स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधि अभाव भएको छ। सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधि अभाव भएको हो। दसैंअघि पाँच लाख रुपैयाँको औषधि खरिद गरिद गरेको उनले बताए।