कालिकोट । माघी पर्व नजिकिएसँगै दाङका थारू बस्तीमा चहलपहल शुरू भएको छ । थारू जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीमा एक महिनाअघिदेखि तयारी गर्ने चलन छ ।यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा अर्थात् अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारकी विपना चौधरीले बताउनुभयो ।पुस महिनामा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको छ । थारू समुदायले माघमा आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आइएको घोराही–६ का मदन चौधरीले बताउनुभयो ।थारू समुदायका पुरुषहरूले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भाले बासेसँगै नदी वा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आशीर्वाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारू समुदायमा छ ।