कालिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । आज संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो । ‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।