कालिकोट । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक सञ्चालनमै राख्ने सङ्केत गर्नुभएको छ । एरिजोनाको फीनिक्समा कन्जरभेटिभ सङ्गठन टर्निङ प्वाइन्ट युएसएले आयोजना गरेको एक कार्यक्रममा ट्रम्पले भने लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई अमेरिकामा बन्द नगर्ने सङ्केत गर्नुभएको हो ।ट्रपले राष्ट्रपति चुनावमा केही प्रमुख मतदातासम्म पुग्न टिकटकले धेरै मद्दत गरेको बताउनुभएको छ । उहाँले टिकटकलाई केही समयका लागि सञ्चालनमै राख्ने सम्भावना रहेको उल्लेख गर्नुभएको पनि चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।चुनावको बेला टिकटकमार्फत प्रचार गर्दा राम्रो प्रतिक्रिया आएको र भिडियो अर्बौ पटक हेरिएको ट्रम्पले बताउनुभएको छ । आफूले देखेको एउटा ग्राफ अनुसार आफ्ना विचार टिकटकमा सबैभन्दा धेरै हेरिएको पनि ट्रम्पको भनाइ छ ।प्रयोगकर्ताको गोपनीयता भङ्ग गरेको र राष्ट्रिय सुरक्षामै खतरा देखिएको भन्दै गएको अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकको मातृ कम्पनी बाइटडान्सलाई टिकटक बेच्नका लागि दुई सय ७० दिनको समय दिने कानून बनाउनुभएको थियो ।