कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आँउदो मंसिर मसान्तभित्र सबै स्थानीय तह (पालिका)मा सम्मेलन सक्न भन्दै परिपत्र पठाएको छ । मंसिर १२ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णयअनुसार (माओवादी केन्द्र)ले कार्यविधि बनाएर मातहतका समितिलाई परिपत्र पठाएको हो । मंसिर ४ गते बसेको बैठकले सम्मेलनको कार्यविधि बनाउन महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले पेस गरेको कार्यविधि अनुमोदन भएपछि स्थानीय तहमा सम्मेलन गर्न बाटो खुलेको छ । स्थानीय तहहरूको अधिवेशन सम्बन्धमा पार्टी विधान– २०८० मा भएको व्यवस्था अनुसार मातहतका समितिलाई परिपत्र पठाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । सहमतिले नेतृत्व चयन हुन नसकेमा पार्टीको स्थानीय निर्वाचन समितिको व्यवस्थापनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मार्फत समिति गठन गर्ने गरी पार्टीले निर्देशन दिएको ढकालले बताए । उनका अनुसार प्रतिनिधि छनोटको मापदण्ड र निर्वाचन प्रक्रिया पार्टीको निर्वाचन नियमावलीअनुसार हुनेछ । विधानको धारा–२४ मा भौगोलिक प्रदेश कार्यसमिति १२५, उपत्यकामा र प्रवासमा गठन हुने प्रदेशस्तरका विशेष समितिहरू बढीमा– ९९, महानगरपालिका समिति÷महाशाखा – ९९, उपमहानगरपालिका समिति – ७५, नगरपालिका समिति – ५५, गाउँपालिका समिति÷शाखा – ४५, वडा समिति÷उपशाखा – २५, टोल समिति÷प्रशाखा – १५ र सेल कम्तिमा – ३ सदस्यीय हुने व्यवस्था छ । विधान बमोजिम कार्यविधिलाई अन्तिम रूप दिई सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको सचिव देवेन्द्र पौडेलले बताए । सचिवालय र पदाधिकारी गठन गर्दा समानुपातिक समावेशीको मान्यतालाई ध्यान दिने गरी निर्देशन दिएको उनले जानकारी दिएका छन् ।