कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा अवस्थित नन्दादेवी बहुमुखी क्याम्पसको प्रथम साधारण सभा भव्य रूपमा सोमबार एक कार्यक्रमका बिच उद्घाटन भएको छ । क्याम्पस सञ्चालन समितिका अध्यक्ष अग्र बहादुर बिष्टको अध्यक्षतामा, नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहको प्रमुख आतिथ्यतामा साधारण सभा कार्यक्रम उद्घाटन भएको हो । कार्यक्रममा पूर्व गाउँपालिकाका उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालय सदस्य मनशोभा बुढा, नेपाली काँग्रेस नरहरिनाथ गाउँ कार्यसमितिका सभापति राम बहादुर बटाला, नेकपा एमाले गाउँकमिटी नरहरिनाथका अध्यक्ष हिरामणी उपाध्याय, वडा नं. २ का अध्यक्ष प्रेम बहादुर बिष्ट, अन्य राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,पुर्व जनप्रतिनिधि, शिक्षक, बिद्यार्थी बुद्धिजीवी, समाजसेवी अविभावक लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन लेखापाल गणेश बिष्टले गरेका थिए। क्याम्पसले २०६९ साल असोज ७ गते त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । यो क्याम्पस स्थापनासँगै स्थानीय विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको थियो। क्याम्पस स्थापना तत्कालीन नन्दादेवी माध्यमिक विधालयका प्रधानाध्यापक कालिमान बिष्टको अवधारणा रहेको थियो । तत्कालीन समयमा हालको नरहरिनाथ गापा भित्र रहेका गाबिसका सम्पुर्ण राजनैतिक दल लगायत सबैको सहभागीतामा तदर्थ समिती गठन भएको थियो। अग्र बहादुर बिस्टको नेतृत्वमा ११ सदस्यिय तदर्थ समितिले विभिन्न संघर्ष गर्दै यहाँ सम्म पुर्याएको थियो । क्याम्पसको विकास र स्थानीय शिक्षा क्षेत्रलाई मजबुत बनाउन सभाले महत्वपूर्ण कुराहरुको उठान पनि गरेको रेडियो सुनथरालीका स्टेशन मेनेजर कमल बहादुर बुढाले जानकारी दिएका छन् । करिब १ बिघा जग्गा ओगटेको सो क्याम्पसमा हाल एक करोड माथिको लगानिमा भवनहरु झकिझकाउ रुपमा निर्माण भएपनी नियमित पठनपाठन हुन सकिरहेको छैन । सो कार्यक्रममा सम्पूर्णले क्याम्पसको नियमित पठनपाठन र परिक्षा केन्द्रका बारे चिन्ता र चासो देखाएका छन्। विगतदेखि हालसम्म क्याम्पसलाई सहयोग गर्नुहुने संस्था व्यक्तीलाई क्याम्पसले सम्मान पत्र पनि दिएको छ । साधारणसभाको उद्घाटन सम्पन्न भएसंगै क्याम्पस संचालन समितिको नयाँ कार्यसमिति चयनका लागि आज देखि बन्द शत्र चल्ने छ । क्याम्पस स्रोतका अनुसार भोलि ११ बजे सम्म साधारण सदस्य लिएका व्यक्तित्त्वहरुले तीन प्रती फोटो र आफ्नो नागरिकताको प्रतिलिपी लिएर आउन अपिल पनि गरिएको छ ।