कालिकोट । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मृत्युपछि मानव अङ्गदान गर्ने दाताका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गर्नुभएको छ ।यसअघि सरकारले मानव अङ्गदान गर्न चाहने परिवारलाई एक लाख रुपैयाँ दिने गरेको थियो । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाताका परिवारलाई एक लाख रुपैयाँ थप गर्ने निर्णय गरेको हो ।मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो । यस्तै अङ्गदानमा सघाउने अस्पताललाई यसअघि दिइने ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ । आफ्नो मृत्यपुपछि अरूको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेको स्वास्थ्यमन्त्री पौडेलले बताउनुभएको छ ।देशभर हरेक वर्ष मिर्गौला प्राप्तिका लागि एक हजार जना र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् । अहिलेको कानूनी व्यवस्थाअनुसार रगतको नाता पर्ने बाहेकले अङ्गदान गर्न पाउँदैनन् ।