कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले उपनिर्वाचनको परिणामले आफ्नो पार्टी उकालो लाग्दै छ कि छैन भनेर संकेत गर्ने बताएका छन् । आज गोरखाको पाटेचौरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपनिर्वाचनको लक्षण राम्रो देखिएको र परिणाम राम्रै आउने आशा गरेको बताए । ‘उपनिर्वाचन को परिणामले हामी उकालो लाग्दै छौं कि छैन भन्ने संकेत गर्छ,’ उनले भने । रुकुम पूर्वको रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका –२ मा निर्विरोध विजयीले थप उत्साह थपेको उनले बताए । ‘यो पनि हाम्रो लागि प्लस नै भएको छ, गोरखा–५ को निर्वाचन जितियो भने गण्डकी प्रदेशलाई पुग्छ, देशैभरि देखिन्छ, बल गर्दा संभावना बढ्दो छ भन्ने देखिएको छ,’ उनले भने । चुनावमा कांग्रेस, एमालेसँग कुनै हालतमा तालमेल नगर्ने ‘ब्ल्याक एन्ड हृवाइट’ निर्णय गरिएको पनि उनले प्रशिक्षणमा बताए । ‘खाली अर्काको खुट्टामा टेक्दा माओवादीको पहिचान हरायो, हामी एक्लै भिड्ने हो,’ उनले भने,‘एक्लै भिड्दा असली पहिचान र ताकत देखिन्छ ।’ विपक्षी दलको नेता भएकाले विपक्षीहरुलाई पनि संरक्षण गर्ने जिम्मेवारी पार्टीको रहेको उनले बताए । कीर्तिपुरको मेयरमा समाजवादी मोर्चामा भएका विप्लव, उपेन्द्र यादव र एकीकृत समाजवादीको पनि समर्थन प्राप्त भएको उनले बताए । अध्यक्ष प्रचण्डले फागुनपछि शक्तिशाली आन्दोलन काठमाडौं केन्द्रित गर्नुपर्ने पनि हुन सक्ने संकेत गरेका छन् । बाहिर भएको सभाले फेरि शासकलाई छुने गरेको छैन, काठमाडौं केन्द्रित गरेर अस्तव्यस्त बनाएपछि मात्रै राजनीतिक परिवर्तन विगतमा पनि संभव हुने गरेको छ,’ उनले भने ।