कालिकोट । सामाजिक सञ्जाल टिकटक नेपालमा सूचीकृत भएको छ । प्रक्रिया पुर्याएर टिकटक सूचीकृत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो ।मन्त्रालयले राखेका सबै शर्त र सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएपछि सूचीकृत गरेर प्रमाणपत्र दिएको उहाँले बताउनुभयो । टिकटकले हिजो नेपालमा सूचीकृत भएको प्रमाणपत्र पाएको छ ।टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका शर्तहरू पनि पूरा गर्ने जनाएको छ ।टिकटक अब आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ ।