कालिकोट । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सार्वजनिक बाँझो जग्गा भाडामा लिएर देशका विभिन्न जिल्लामा गरी करिब ८० ठाउँमा सामूहिक खेती गरिरहेको गरीरहेको छ । नेकपाले कपिलवस्तुको शिवगढी सहित अर्घाखाँचीको शीतगंगामा १५० रोपनीमा गाई र कुखुरापालन, तरकारी तथा फलफूल खेती गरेको छ ।
पार्टीका पोलिटब्यूरो सदस्य एवं राप्ती ब्यूरो इन्चार्ज सविनका अनुसार रोल्पाको घर्तीगाउँमा १५ रोपनीमा आलु र लसुन खेती, दाङको घोराही उपमहानगरपालिका–१६ गेरुवाको ६ बिघामा कृषि फार्म, आलु र तरकारी खेती गरिएको छ । दाङकै बेलझुण्डीमा २५ बिघा भाडामा लिएर खेती गरिएको छ ।
जसमध्ये ५ बिघामा माछापालन गरिएको छ । यस्तै, सल्यानको छत्रेश्वरी गाउँपालिकामा पनि १३ रोपनीमा कागती रोपिएको छ भने बर्दियामा धानखेती गरेको छ ।
पार्टीको केन्द्रीय उत्पादन विभागका नेता सन्देश पौडेलका अनुसार चितवनको माडीमा १५ बिघा जग्गा ९ वर्षका लागि भाडामा लिएर ६ बिघामा माछापालन गरिएको छ साथै ५ बिघामा चैते धान र बाँकीमा मकै, तोरी, आलु खेती र मौरी पालन गरिएको छ । काठमाडौंमा दुईवटा गार्मेन्ट उद्योग, कपिलवस्तुमा सफाइ सामग्री उत्पादन गरिरहेको नेकपाले काठमाडौं र नुवाकोटको बीचमा पानी उद्योग तथा सुनसरीको झुम्कामा आलु चिप्स उत्पादन उद्योग स्थापनाको तयारी गरेको छ ।
यस्तै नेकपाले काठमाडौं सहित देशका मुख्य शहरहरुमा आफ्ना कृषि उत्पादन बिक्रीका लागि पसल सञ्चालन गर्ने तयारी गरिरहेको नेता पौडेलले जानकारी दिए । पार्टीको अहिले सम्म सातवटा केन्द्रीय उत्पादन ब्यूरो, २२ वटा उत्पादन ब्यूरो, ४१ वटा जिल्लास्तर, ७ वटा जनवर्गीय संगठनस्तर र ३ वटा विभागस्तरका इकाइमार्फत उत्पादन गरिरहेको उनले जानकारी दिए । ‘जिल्ला कमिटीसम्मका कम्तीमा तीन सयजना नेता कार्यकर्ताहरू उत्पादन र उद्योगमा प्रत्यक्ष संलग्न छन्, एक्लै भन्दा सामूहिक खेती गर्दा धेरै सहज र आम्दानी पनि बढी हुँदोरहेछ,’ उनले भने ।
गएको २०८० चैत्र महिनामा नेकपाका महासचिव विप्लव आफै सहभागी भएर कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा पनि १५ सय भन्दा बढी स्याउका बिरुवा रोपेर चैत्र २८ गते कालिकोटको नाग्ममा विसाल जनसभा कार्यक्रम समेत आयोजना भएको थियो । यस्तै सिलाइ कटाइ, कपाल काट्ने, पानीपुरी बेच्ने व्यवसायमा पनि पार्टीका करीव ५० जना भन्दा बढी कार्यकर्ता सामूहिक रूपमा लागी रहेका छन् ।
पार्टीको नवौं महाधिवेशनले पारित गरेको कम्युनिष्ट अर्थ दृष्टिकोणको दस्तावेजमा आधारित रहेर आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्य अनुसार कृषि र उद्योगमा संलग्न भएको ब्यूरो इन्चार्ज सविनले जानकारी दिएका छन् ।