कालिकोट । यस वर्ष जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ । ६१ जनामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएकोमा १४ जनाको ज्यान गएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिनुभयो ।यसपालि गएको वर्षको भन्दा सङ्क्रमण घटेको भए पनि ज्यान गुमाउने दर उच्च देखिएको हो । अघिल्लो वर्ष एक सय सात जनामा सङ्क्रमण पुष्टि भएकोमा सात जनाको ज्यान गएको थियो ।नेपालमा भदौको मध्यदेखि असोजको मध्यसम्मलाई जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम भएको समय मानिन्छ । जापानिज इन्सेफलाइटिस भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् ।