शिकार यामका लागि ढोरपाटन शिकारआरक्षले टेण्डर खोल्यो

कालिकोट । यस वर्षको पहिलो शिकार यामका लागि ढोरपाटन शिकार आरक्षले टेण्डर खोलेको छ। आगामी असोजदेखि हुने शिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार खेल्न चाहने शिकारीका लागि टेण्डर खोलेको हो।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिजनका लागि १२ वटा नाउर, ८ वटा झारल र ११ वटा बँदेल शिकार गर्न टेण्डर खुलाइएको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिएका छन्।टेण्डरको म्याद १५ दिनको हुने र सबै प्रक्रिया पूरा भएपछि अर्को महिनादेखि शिकार शुरु हुने उनको भनाइ छ।धेरै महँगो र साहसिक हुने हुँदा धेरैजसो विदेशी शिकारी ढोरपाटन शिकार आरक्षको विभिन्न ब्लकमा आएर शिकार खेल्ने उनी बताउँछन्। टेण्डर पाउने संस्थाले नेपाली तथा विदेशी शिकारी ढोरपाटन लैजाने प्रमुख कँडेलको भनाइ छ।ढोरपाटनमा प्रत्येक वर्ष पहिलो सिजन असोज–मंसिर र दोस्रो सिजन फागुन–वैशाखमा शिकार याम शुरु हुने उनले बताए।

error: Content is protected !!