कालिकोट । १७ औँ पुस्तकालय दिवस आज देशभर मनाइँदै छ। सरकारले २०६५ देखि भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ।राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि।सं १८६९ भदौ १५ गते आज पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।१७ पुस्तकालय दिवसका अवसरमा दुई साता अघि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम शुरु भएको छ। दिवस मनाउन सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ।मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ। यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ। कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ।