कालिकोट । विकासका दृष्टिकोणले सबैभन्दा पछि रहेको कर्णालीमा दैनिकजसो गोष्ठी तथा सेमिनार भइरहन्छन् । सरकारका तर्फबाट मात्र नभइ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पनि विभिन्न कार्यक्रम लिएर कर्णालीमा आउने गरेका छन् । यद्यपि सरकार तथा संघ–संस्थाका त्यस्ता अधिकांश कार्यक्रम राजधानी वीरेन्द्रनगर सुर्खेतमै केन्द्रित हुने गरेका पाइएका छन् । कर्णाली प्रदेश सरकारले त्यस्ता खालका कार्यक्रममा बर्सेनि ठुलो रकम खर्च गरेको पाइएको छ । रातोपाटीलाई प्राप्त विवरण अनुसार पछिल्लो एक वर्षमा यस्ता शीर्षकमा दुई अर्ब २१ करोड ४९ लाख १७ हजार ४४.६४ रुपैयाँ खर्च भएको छ । तालिम तथा गोष्ठी शीर्षकमा मात्रै १७ करोड ३० लाख ९२ हजार ५९.७१ रुपैयाँ खर्च भएको प्रदेशको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । ती गोष्ठी तथा तालिम सञ्चालन गर्नका लागि तालिममा मात्रै ४ करोड ३४ लाख ३५ हजार २९८ रुपैयाँ खर्च भएको छ ।