कालिकोट । जुम्लामा उत्पादन भएको स्याउ बाँकेको नेपालगञ्जका चोक तथा सबैजसो फलफूल पसलमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका पसलमा बिक्री भइरहेका हुन् ।प्रतिकिलो एक सय ६० रुपैयाँमा बिक्री भएको जुम्लाको स्याउ उपभोक्ताको अत्यधिक रोजाइमा परेको व्यापारीहरू बताउँछन् । कोहलपुर नगरपालिका वडा नम्बर १२ की शर्मिला कार्कीले प्रतिकिलो २० रुपैयाँ नाफा राखेर बिक्री गरेको र स्याउ ताजा, रसिलो र स्वादिष्ट रहेकोले छिटो बिक्री भइरहेको बताउनुभयो ।नेपालगञ्जमा प्रायजसो भारतको सिमलालगायत क्षेत्रबाट ल्याएर स्याउ बिक्री गरिन्छ । हेर्दा जुम्लाको भन्दा भारतको स्याउ आकर्षक भए पनि जुम्लाकै स्वादिलो भएको उपभोक्ताको भनाइ छ ।