कालिकोट जुम्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले हिमाली टि एण्ड एन रिर्सच प्रालि र गुठीचौर एग्रो फर्मलाई आर्थिक तथा प्राविधिक सहयोग गरेर उच्च घनत्वको स्याउ खेती विस्तार गरेको परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले जानकारी दिनुभयो ।कम जमिनमा धेरै बिरुवा रोपेर गरिने स्याउ खेतीलाई उच्च घनत्वको स्याउ खेती भनिन्छ । चक्लाबन्दी मोडेलमा उच्च घनत्वको स्याउको क्षेत्र विस्तार गरी यन्त्रमैत्री गह्रासुधार, थोपा सिँचाइ तथा घेराबारमा परियोजनाबाट सहयोग गरी थप नौ हेक्टर क्षेत्रफलमा उच्च घनत्वकोे स्याउ बगैँचा स्थापना भएको शाहीको भनाइ छ ।