कालिकोट । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो मनाइँदैछ।हरेक वर्षको जुलाई २८ मा हेपाटाइटिसविरुद्धको दिवस मनाउने गरिन्छ। यो वर्ष ‘यो काम गर्ने समय हो’ भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ। हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ।कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस ‘ए’ देखि ‘इ’ सम्म गरी पाँच प्रकारका हुन्छन्।तुलनात्मक रुपमा हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सि’ बढी घातक हुने गर्छ। ज्वरो आउनु, शरीर पहेँलो हुनु, वाकवाकी, उल्टी हुनु, खान मन नलाग्नु, जिउ दुख्नु, अत्याधिक थकान महसुस हुनु, पिसाब पहेलो हुनु, पेट दुख्नु आदि यो रोगको लक्षण हुन्।