कालिकोट । पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ।यस वर्ष साउनमा पशुपति क्षेत्रमा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षभन्दा अझ बढी भीड हुने भएकाले सुरक्षा बैठकलगायत तयारी गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।पशुपति क्षेत्रमा आजैदेखि चहलपहल शुरु भएको छ। साउनका ४ सोमवार, ५ शनिवार, नागपञ्चमी, गुरुपूर्णिमामा बढी भीड हुने भएकाले त्यसैअनुसार तयारी गरिएको उनले बताए।साउनमा पशुपतिनाथ मूल मन्दिरका चारै ढोका विहान ३ बजेदेखि खुला गरिनेछ। कोषले असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको थियो।