कालिकोट । स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी पाँच दिने तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको हो ।नेपालगञ्जमा हालै आयोजित आयोजित तालिममा अस्पतालमा आकस्मिक सेवा कसरी व्यवस्थापन गर्ने, बिरामी आउने बित्तिकै रोग तथा समस्याको पहिचान तथा निदान कसरी गर्ने, तत्कालको उपचार कसरी गर्ने, महामारी तथा विपद्को समयमा जटिल किसिमका आउने बिरामीको पहिलो उपचार कसरी गर्ने र आकस्मिक एकाइको व्यवस्थापनलगायतका बारेमा क्षमता अभिवृद्धि गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताएका छन् ।