कालिकोट । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उनले उल्लेख गरेका छन्।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताएका छन्।उनले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएको प्रष्ट पारे।