कालिकोट । काठमाण्डौ महानगरपालिकाले झन्डै एक महिनाअघि निजी अस्पतालहरूलाई आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालनामा अस्पतालहरूले आनाकानी गरेका छन् ।महानगरले गएको जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो । यो निर्देशनको पालना गरी अहिलेसम्म कुनै पनि अस्पताल महानगरको स्वास्थ्य विभागमा नआएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।महर्जनका अनुसार केही अस्पतालले भने आफ्नै फर्मेसी सञ्चालनका लागि महानगरले दिएको समय सीमा अपुग भएको भन्दै आउँदो साउनदेखि शुरु गर्ने जानकारी गराएका छन् । अस्पतालले नै फार्मेसी सञ्चालन गर्दा बिरामीहरूलाई उचित मूल्यमा सही औषधी प्राप्त गर्न र विपन्न नागरिकलाई सुपथ मूल्यमा औषधि खरिद गर्न पाउने अधिकार पनि कार्यान्वयनमा सहज हुने महानगरको भनाइ छ ।





