कालिकोट । जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई) उत्तीर्ण गरेका छन्।टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जिपिए प्राप्त गरेको विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्।सो विद्यालयबाट यस वर्ष ९ जना छात्र र १४ जना छात्रा गरी २३ जनाले एसईई परीक्षा दिएकामा शतप्रतिशत उत्तीर्ण भएका छन्।उक्त विद्यालयबाट एसईई परीक्षा दिएका अधिकांश विद्यार्थीले ३.८ जिपिएभन्दा माथि नतिजा ल्याएको जानकारी उनले दिएका छन्।राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीवार प्रकाशित २०८० को एसईई परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्। कूल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका वेला प्रवासमा रहेको त्यस विद्यालयबाट अफ्रिकी मुलुक जाम्बियाका छात्रसहितका परीक्षार्थी उत्तीर्ण हुनुलाई सकारात्मक रुपमा हेरिएको छ।सन् २०१३ मा स्थापना भएको विद्यालयबाट यस वर्ष चौथो समूहले परीक्षा दिएको थियो। स्थापनाकालमा १६ जना विद्यार्थीबाट शुरु भएको उक्त विद्यालयमा हाल नेपाली र विदेशी गरी ४५० विद्यार्थी अध्ययनरत छन्। हाल विद्यालयमा ६ जना जापानी विद्यार्थी पनि अध्ययनरत रहेका छन्।