कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सचिवालय बैठक आज बस्ने भएको छ।दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठानिक दस्तावेजको टुङ्गो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिएका छन्।बैठकले पार्टीको आसन्न दसौं राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्ने पनि उनले बताएका छन्।असार १६ देखि २० गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने छ ।यसैबीच एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनमा करिब दुईसय स्वयंसेवक परिचालन गर्ने भएको छ। पार्टी निकट राष्ट्रिय खेलकुद महासङ्घ, मजदुर सङ्गठन र भूतपूर्व सुरक्षाकर्मीलाई समावेश गरी स्वयंसेवक परिचालन कमिटी गठन गरिएको हो।