कालिकोट । वीर अस्पतालले आजबाट ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया शुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया शुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्रा. डा. राजीव झाले जानकारी दिनुभयो ।उहाँका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा एकदेखि तीन लाख रुपैयाँसम्म पर्छ ।शरीरका कोषिकाहरू असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने प्रा. डा. झाले जानकारी दिनुभयो । ‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरू कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना हुने उहाँले जानकारी दिनु भयो ।