कालिकोट । नारायणहिटी दरबारमा हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी घटना भएको थियो । घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो । यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्गविक्रम पनि मारिएका थिए । हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले युवराज दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । ‘आफूले मन पराएको युवतीसँग विवाह गर्न नपाएको झोकमा नशालु पदार्थ सेवन गरी राजपरिवारका सदस्यहरूलाई मारेको र आफूले पनि आत्महत्या गरेको’ व्यहोराको निष्कर्ष समितिले निकालेको थियो । यो प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन् । दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्राहलयमा परिणत गरिएको छ।