अर्जुन सिंह अनुरागी “भुइँ मान्छे”।
मुक्तिका लागि २००७ सालदेखि विभिन्न मोर्चाबन्दी सडक संघर्ष देखि १० वर्षीय महान जनयुद्ध, १९ दिने जनआन्दोलन हुँदै देश संघीय लोकतान्त्रीक गणतन्त्र सम्म आइपुग्दा हजारौं महान योद्धाको रगत र पसिना बगेको छ । दर्जनौं घरपरिवार अहिले पनि आफ्नो बेपत्ता परिवारको सम्झनामा शोकाकुल छन् । लाखौं युवायुवती बेरोजगार भएर परिवारको सानो खुशीको लागि खाडीको तातो मरुभूमिमा चिसो बालुवा चाल्दै छन् । दैनिक एकपछि अर्को विदेशी भूमिबाट लास नेपाल आइरहेका छन् । मुलुककै राजधानी काठमाडौं शहरमा दिउँसै हत्या, हिंसा, मानव बेचबिखन, लुटपाट, ठगीधन्दा चल्ने गरेको छ । लोकतन्त्रको नाममा सत्ताको पहुँचमा पुगेका ठूला नेताको सामुन्ने तिनका बफादार कार्यकर्ताहरुले नै लुटतन्त्र मच्चाइरहेका छन् । मुलुकको अधिकांश सरकारी स्कुलमा गुणस्तरीय शिक्षा पाईंदैन । न कुनै सरकारी अस्पताल र स्वास्थ्य चौकीमा आवश्यक औषधि छ, न भरपर्दो दक्ष स्वास्थ्यकर्मी । सरकारी सेवामा इमान्दारिताको खडेरी लाग्दै गएको छ । हरेक क्षेत्रमा घुसतन्त्र मौलाएको छ । स्वास्थ्यकर्मीका नाममा मेडिकल माफियाहरुको रजगज चलेको छ । सरकारी तलब र भत्ता खाएर सरकारी विद्यालयका शिक्षकहरु आफ्ना छोराछोरी मँहगो प्राइभेट बोर्डीङ स्कुल भर्ना गरेपछि गरिबका छोराछोरीलाइ अल्मलाइरहेका छन् ।
सबैले धकेल्दा धकेलिने गरिबको एक ठेला छ
राजनीति राजकाजमा भुस्याहा कुकुरको भेला छ ।
एउटै कुरा कसैलाई संवैधानिक, कसैलाई असंवैधानिक
फिल्डमा हेर्दा पनि दुरुस्तै अनुहारको चेला छ ।
माथिको हिमाल पहाड तलको तराई कहीँ देखिनँ
सँधै मिठा भाषण उपलब्धि कुन समय कुन बेला छ ।
न पुराना राजाले देखे न अहिलेका महाराजाले
दुर्भाग्य गरिखाने वर्ग जन्मेदेखि मर्दासम्म हेँला छ ।
विकास प्रेमी भन्नेहरु पाँच वर्ष कहाँ हराए
चुनाव आएर होला गाउँमा तिनै मुखियाको मेला छ ।
सिंहदरबार गाउँगाउँमा छ तर त्यो सिंहदरबारमा प्रायः श्रमजीवी श्रमिकको रगत र पसिना चुस्ने जनप्रतिनिधिको जन्म भएको छ । ‘दुधको साक्षी बिरालो’ भनेजस्तै उनैले विकासको नाममा शिलान्यास र उद्घाटनको नाममा राँगा खसी बोका काट्न जानेको देखिन्छ । सरकारी बजेट तलमाथि पार्न राम्रै ज्ञान र सीप लिएको भान हुन्छ । उनीहरुलाई थाहा छैन चुहिने छानो भित्रको बास कस्तो हुन्छ ? तिनीहरुलाई थाहा छैन बिहानको छाक खाए बेलुका के खाने, बेलुका खाए बिहान के खाने चिन्ता गर्ने परिवारको भान्सा कस्तो हुन्छ ? थाहा छैन दिनभरि साहुको काम गरेर बिहान–बेलुका छाक टार्नेको मजदुरी । तिनीहरुलाई थाहा छैन आफ्नो परिवार र सन्तानको भविष्य सुनिश्चित गर्नको लागि अर्काको देशमा १८ घण्टा अत्याधुनिक मेसिनमा रोबर्ट झैँ काम गरेर पसिना खलखल बगाउनेको वास्तविक कथा त्यसैले यी सबै व्यर्थ लाग्छ । जबसम्म मजदुर किसान वर्गको सम्मान हुँदैन् तबसम्म देश विकास हुनै सक्दैन । अस्थिर राजनीति स्थिरतातर्फ जाँदैन । भाषण र नारामा मात्र मुलुकको समृद्धि देखिँदैछ । गणतन्त्र, मौलिक स्वतन्त्रता, धर्म निरपेक्षता, समानता, सार्वभौमसत्ता जनतामा निहित यी सबै बिस्तारै कागजमा मात्र सीमित भएको भान हुन्छ । यसलाई रक्षा गर्न हिजो विभिन्न कालखण्डमा भएका घटनाको सम्मान गर्दै सबै उपलब्धिलाई संस्थागत गरेर कार्यान्वयनतर्फ लैजानुपर्छ । देशको कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुनपर्छ । अस्वाभाविक तवरबाट राज्यको सम्पत्तिमा गिद्धेनजर राख्ने, समाजमा जघन्य अपराध गर्ने, स्वार्थको निम्ति संविधानको धारा–उपधारा परिमार्जन गर्ने र गर्न खोज्नेलाई नागरिकले बेलैमा चिन्नुपर्छ । देशबाट सबैखाले सिन्डिकेट पूर्ण रुपमा अन्त्य हुनुपर्छ । तर अहिलेको परिस्थितिले तत्काल यस्तो हुने सम्भावना देखिँदैन । समाजवाद उन्मुख नेपालको संविधानले परिकल्पना गरेको भन्दा ठ्याक्कै उल्टो दिशामा देश अगाडि बढिरहेको छ । देशमा पुराना सामन्तवादका केही अवशेष हरु ले गणतन्त्र , संघीयता राज्यको सबै अंगमा समानुपातिक समावेशी जस्ता धेरै लामो समय नेपाली जनताको संघर्ष पछिका उपलब्धि लाई गलत ब्याख्या गर्न खोजिएको छ यसले अहिले तत्काल नभए पनि परन्तु मा यसले हानी पुर्याउछ त्यसैले यस्ता अवशेष हरुलाइ बेलैमा निमिट्यान्न पार्नु बुद्धिमानि हुनेछ । देशभर शान्तिको आभास गर्नु राज्यको दायित्व र जिम्मेवार हो यसको लागि सबैभन्दा पहिला भारत सग को खुल्ला नाका बन्द गर्नु अति आवश्यक छ त्यसैले सिमानामा काडेतार लगाउनु पर्छ देश भित्रको अपराध नियन्त्रण गर्न राज्यको सम्बन्धित निकायले मापदण्ड बनाइनु पर्छ र उक्त मापदण्डअनुसार सबै खाले अपराध न्यूनीकरण गर्नुका साथै नेपालीको संविधानले परिकल्पना गरेको समाजवाद को यात्रामा देशलाई अगाडि बढाउन धेरै नै ढिला भैसकेको ले सबै नेपाली आ–आफ्नो ठाउँबाट जुट्नु पर्ने देखीन्छ ।