संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र नेपाली कांग्रेसबीच सकारात्मक छलफल

कालिकोट । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको छलफल सकारात्मक भएको कार्यदलका सदस्यहरुले बताएका छन् । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलले कार्यादेशबारे लगभग टुंगो लगाएको बताएका छन् । उनका अनुसार संसदमा र सार्वजनिक सञ्चार माध्यममा प्रश्न उठेका सहकारी र उक्त सहकारीको वचत रकम नियम विपरीत लगेर अपचलन गर्ने सञ्चार माध्यमको नाम संसदीय समितिको कार्यादेशमा राख्ने सहमति जुटेको छ । तर कार्यादेशलाई अन्तिम रुप भने शीर्ष नेताको बैठकले दिने मन्त्री गिरीले जानकारी दिए । पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा लगायत सहकारीको रकम गोर्खा मिडिया प्रालिले गैरकानुनी रुपमा लगेर अपचलन गर्दा वचतकर्ताले वचत फिर्ता नपाएको समाचारहरु सार्वजनिक भएका छन् र नेपाली कांग्रेसले पनि संसदमा यो विषय उठाएको थियो । कांग्रेसले ती सहकारीको रकम अपचलन हुँदा गोर्खा मिडिया प्रालिमा हालका गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको भन्दै उनीमाथि छानबिन गर्न माग गर्दै आएको छ ।

error: Content is protected !!