कालिकोट । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्।नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा बोल्दै उक्त कुरा बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ।त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताए। उनले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा गरे। विगतमा राजा चाल्र्सले गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’को काम र उपलब्धिबाट आफू प्रेरित भएको बताएका छन्।