१० महिनामा विकास खर्च ३७ प्रतिशत मात्र

कालिकोट । चालु आर्थिक वर्ष २०८० र ८१ को १० महिना सकिँदा पूँजीगत ३७ प्रतिशत पुगेको छ । यसले पुनः एकपटक असारे खर्च बढ्ने निश्चित देखीएको छ । कुल ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले वैशाख मसान्तसम्म १ खर्ब ११ अर्ब ८८ करोडमात्र खर्च गर्न सकेको छ । यो लक्ष्यको ३७ प्रतिशत मात्र हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेट खर्च १० खर्ब नाघेको छ । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । चालु खर्च र वित्तीय व्यवस्थामा भएको खर्च उल्लेख्य बढ्दा पूँजीगत खर्च भने यस वर्षसमेत दयनीय देखिएको छ । पूँजीगत खर्च गर्न नसक्दा सरकारको हरेक वर्ष चर्को आलोचना हुने गरेको छ । खासगरी आयोजना कार्यान्वयनमा देखिएका समस्याका गाँठो फुकाउन नसक्दा विकास खर्चमा विकासे मन्त्रालयहरू नै निरीह देखिँदै आएका छन् । कार्यालयका अनुसार चालु खर्च भने ७ खर्ब ५२ अर्ब बराबर भएको छ । यस वर्ष सरकारले ११ खर्ब ४१ अर्ब बराबर चालु प्रकृतिको खर्च गर्ने लक्ष्य राखेको छ ।

error: Content is protected !!