कालिकोट । दैलेखको सदरमुकाम दैलेख बजारमा आगलागी भएको छ । आज दिउँसो १ः०० बजे विद्युत् सर्ट भई नारायण नगरपालिका वडा नं १मा पर्ने साजनसाजन अटोपार्टसमा लागेको आगो सल्किँदै अन्य पसलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुईवटा पसल जलेर नष्ट भएका बताइएको छ । आगलागीबाट मोटरसाइकल ग्यारेज र उक्त ग्यारेजसँगै जोडिएको सम्झना फोटो स्टुडियो जलेर नष्ट भएको छ। आगलागीबाट साजन अटोपार्टसमा भएका सबै सामग्री जलेर नष्ट भएका हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। त्यस्तै, सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियो पनि आगलागीबाट पूर्ण रूपमा क्षति पुगेको छ । पसलमा राखिएका कुनै पनि सामग्री प्रयोगयोग्य छैनन्। उक्त पसलमा सामान खरिदका लागि राखिएको नगदसहित करिब दुई करोडभन्दा बढीको क्षति भएको सम्झना इन्टरप्राइजेजका सञ्चालक भूपेन्द्र बिसीले बताएका छन् । अहीले सशस्त्र प्रहरी वल, नेपाल प्रहरी र स्थानीयबासी हरुको सक्रियतामा नारायण नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको र क्षतिको विवरण संकलन गर्ने काम सुरु भएको छ ।