कालिकोट । नेपाल पत्रकार महासंघले नयाँ कार्यसमिति चयनका लागि आगामी २६ जेठमा निर्वाचन गर्ने भएको छ । हिजो काठमाडौंमा भएको महासंघको २७ औं महाधिवेशनले २६ जेठमा निर्वाचन गर्ने निर्णय गर्दै त्यसको तयारीका लागि महासंघका समितिहरुलाई निर्देशन दिएको छ ।सदस्यता शुद्धीकरण सम्बन्धी सबै विषय महासंघको विधान र शुद्धीकरण मापदण्ड २०७९ अनुसार वैशाख भित्रै टुंगो लगाएर सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । महासंघले कानुन निर्माणका क्रममा रहेका मिडियासम्बन्धी विभिन्न विधेयकहरुलाई पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुने गरी मिडियामैत्री बनाउन तीनै तहका सरकारसँग माग गरेको छ । त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कुनै पनि नीति तथा क्रियाकलाप नगर्न सरकारलाई आग्रह गरेको छ ।