वेस्ट इन्डिज ’ए’ सँग नेपाल ७६ रनले पराजित

कालिकोट। वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको छ । बुधवार वेस्ट इन्डिज ’ए’ ले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १ सय ५१ रनमा अल आउट भयो । नेपालका लोकश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । वेस्ट इन्डिज ’ए’ का हेडन वाल्शले ३, गुदाकेश मोटीले २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ’ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायो । वेस्ट इन्डिज ’ए’ का ओपनर ब्याटर जोनसन चार्ल्सले शतक बनाए । चार्ल्स ५९ बलमा १ सय १९ रन बनाएर नट आउट रहे । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । नेपालका करण केसी र सागर ढकालले समान १ विकेट लिए । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

error: Content is protected !!