कालिकोट । कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)बाट तीन जना मन्त्री नियुक्त भएका छन् । तीनै जनाको नाम माओवादी संसदीय दलका नेता राजकुमार शर्माले अस्ती आइतबार नै मुख्यमन्त्री कहाँ पठाइसकेका थिए । मन्त्री हुनेहरुमा आर्थिक मामिला तथा योजना मन्त्रीमा रुकुम पश्चिमका महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा डोल्पाका वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा कालिकोटबाट दुर्गबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाका रणसिंह परियार नियुक्त भएका छन् । यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीमध्ये महेन्द्र केसी, वीरबहादुर शाही, दुर्गा रावत र शेरबहादुर बुढाले शपथ लिइसकेका छन् भने । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमालेका विनोद शाह शपथ ग्रहण कार्यक्रममा उपस्थित नभएको बताइएको छ ।