कालिकोट । ‘औलो विरुद्ध लडाईलाइ तिब्रता दिऔं, समतामुलक पहुचको सिर्जना गरौं’ भन्ने नारासहित आज विश्व औलो दिवस कालिकोटमा पनि अन्तरक्रियामूलक कार्यक्रम गरी मनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा सञ्चारकर्मी साथै महिला स्वयम सेविकाहरु सँग अन्तरक्रिया गर्दै विश्व औलो दिवस मनाइएको हो । जिल्ला स्थित विभिन्न सञ्चार माध्यायमका सञ्चार कर्मीहरू सँग जिल्लामा वर्तमान समयमा औलो रोगको अवस्था, यसका लक्षण, औलो ज्वरोका चरण र रोग निदान बारे आम नागरिकले खेल्नुपर्ने भूमिकाको विषयमा छलफल गर्दै बिहिवार सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा निमित्त स्वास्थ्य सेवा व्यवस्थापक तथा जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले औलो लामखुट्टेको टोकाइबाट सर्ने भएकाले नियन्त्रणका लागी वातावरण सरसफाइ सँगै अन्य देशबाट स्वदेश फर्केकाहरूमा विशेष ध्यान दिन उनले आग्रह गरेका छन् । कालिकोटमा गत वर्ष २ जनामा औलो सङ्क्रमण देखिएको थियो भने यस वर्ष हाल सम्म कुनै पनि सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको तथ्याङ्कमा उल्लेख छ ।ज्वरो आउनु,पसिना आउनु,टाउको दुख्नु,थकित हुनु,पेट दुख्नु,चक्कर लाग्नु,मांसपेशी तथा जोर्नीहरू दुख्नु,जाडो हुनु, वाकवाकी लाग्नु यसका सामान्य लक्षण भएकाले समयमै स्वास्थ्य संस्थामा गई उपचार गराइहाल्नु पर्ने मेडिकल अधिकृत डा.चन्द्रा शाहले सुझाव दिएकी छन् ।
यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइने गरेको डा.शाहको भनाइ छ । साथै नेपालमा औंलोको अवस्था र औंला रोग निवारण सम्वन्धि नीति तथा रणनीतिहरुको वारेमा जनस्वास्थ्य सुपरभाईजर निरीक्षक कृष्ण कुमार विष्टले जानकारी गराएका थिए
। विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धता अनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ ।