कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भोली विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री कँडेलले यही वैशाख १३ गते विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए । सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता कँडेल मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिने सहमति भएसँगै माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुने भएपछी कँडेलले भोली बिहिबार विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले चार मन्त्रालय प्राप्त गरेपश्चात् सरकार विस्तार हुने वातावरण बनेपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने मिति तय भएको कर्णाली प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिए ।